काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको हो ।
आजको सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले रायमाझीले कानुनी प्रक्रियालाई सघाउनुपर्ने एमालेले निर्णय गरेको बताए । गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको बताए ।
यद्यपि आजको बैठकले रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको स्पष्ट पारे । एमालेले रायमाझीलाई तत्काल कुनै कारबाहीका लागि प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । यसैले एमालेले रायमाझी दोषी भए-नभएको हेर्न अदालतको निर्णय कुर्ने समेत भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव रायमाझी मुछिएपछि एमालेको सचिवालय बैठक बसेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।