काठमाडौँ । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ ।
काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले जानकारी दिए । गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा. शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो ।
अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उनका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिए । उनको उपचारमा वरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डे र उनका टिम संलग्न छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइने डा. पाण्डेले जानकारी दिए ।
डा. भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ ।
शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उहाँकी आमा हरिकला भण्डारी पनि घाइते भएका थिए । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।