९ असार २०८१, आइतबार

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान


अमिक शेरचन

दाङ । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नको लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनको लागि वैशाख १४ गते बिहीबार ४ बजेसम्मको समयसीमा दिएको जानकारी दिएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि हिजो स्वतः पदमुक्त भएका थिए । मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै विपक्षमा धेरै मत परेको थियो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्री गिरीलाई ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो ।

मुख्यमन्त्रीले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको थियो । तर मुख्यमन्त्री गिरीको सरकारलाई एमालेका २९ र राप्रपाका ४ जना सांसद गरी ३३ जनाको मात्रै समर्थन गरेकोले लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

सत्ता गठबन्धनका दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

यो पनि पढ्नुहोस्

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरी पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !