७ मंसिर २०८१, शुक्रबार

बालेनको व्यवहार अराजक र गैरजिम्मेवार, जिम्मेवार भएर काम गर्न सचेत गराउने सरकारको निर्णय


मन्त्रिपरिषदको बैठक

काठमाडौँ । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको व्यवहार अराजक र गैरजिम्मेवार भएको निष्कर्ष निकाल्दै जिम्मेवार भएर काम गर्न सचेत गराएको छ ।

आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरका मेयर साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको हो ।

मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।

बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरका मेयर साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् ।

उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !