७ बैशाख २०८१, शुक्रबार

कोशी प्रदेश नामकरणबिरुद्धको आन्दोलनप्रति शिक्षामन्त्री राईको समर्थन


अशोक राई

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेश नामकरणबिरुद्ध भएको जारी आन्दोलनप्रति समर्थन गरेका छन् । राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका हुन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राखे । मन्त्री राईले भने, “लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।” उनले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने बताए ।

उनले कोशी प्रदेश नामकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिए ।

मन्त्री राईले भने, “कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मातहतको निकाय नभएकाले यसको आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार यहाँ सञ्चालनमा छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !