६ जेष्ठ २०८१, आइतबार

सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज दोस्रो चरणको वार्ता जारी


गृह मन्त्रालय

काठमाडौँ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीचको आज दोस्रो चरणको वार्ता जारी रहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी रहेको हो ।

हिजो भएको वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव तथा सरकारका तर्फबाट वार्ता टोलीका सदस्य दिलकुमार तामाङले वार्तामा पीडितका वार्ता टोलीले ९ बुँदे लिखित माग प्रस्तुत गरेको ती मागका विषयमा दफावार छलफल भएको थियो ।

सरकारी वार्ता टोलीसँगको छलफलमा मिटरब्याज पीडितहरूले अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेदेखि अदालतमा परेको मुद्दाका विषयलाई समाधान गर्नुपर्ने तथा मिटरब्याजीहरूले बनाएको तमसुक खारेज गर्नुपर्नेलगायतका माग राखेका थिए ।

समस्या समाधानका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने मिटरब्याज पीडितले सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

यसअघि सरकारले मिटरब्याजमा लगाउने कार्यलाई अपराध घोषणा हुने गरी मुलुकी अपराधसंहितालाई संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितहरू न्यायको माग गर्दै ११ दिन हिँडेर तराईबाट काठमाडौँ आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !