६ बैशाख २०८१, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


मन्त्रिपरिषदको बैठक फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका हुन् । मन्त्रिपरिषद्को जारी बैठकले मिटरब्याज पिडितको समस्या समाधानका लागि निर्णय गर्ने बताइएको छ ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गर्ने भएको हो । सरकारले मिटरब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए ।

यससम्बन्धी कानुन ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको पनि उनले बताए । केही दिनदेखि राजधानी काठमाडौँमै आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुका समस्या बुझ्न उनीहरुसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय: सोमबार र बिहीबार बस्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !