७ बैशाख २०८१, शुक्रबार

शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति सभामुखद्वारा आत्मआलोचना


देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आत्मआलोचना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्ष आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले आत्मआलोचना गरेका हुन् ।

गत चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भनी टिप्पणी गरेका थिए । उनको यो टिप्पणीलाई लिएर सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका थिए ।

आज सभामुख घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका हुन् । आजको भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताएका थिए । उनले सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताए । भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धि विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको छ ।

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !