काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताए ।
“प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उनले भने ।
उनले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताए । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उनले भने ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनअपेक्षा पूरा गर्न नसक्ने सरकारलाई विश्वासको मत दिन नसकिने बताए । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई निरन्तर समर्थन रहिरहने बताए । निषेधले देश र जनताको हित नगर्ने भन्दै सम्पूर्ण दल मिलेर जानुपर्नेमा उनले जोड दिए ।