१२ बैशाख २०८१, बुधबार

कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सहभागी हुने


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी पनि हुने भएको छ । काँग्रेसले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सहभागी हुने भएको हो ।

आज आइतबार नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेपछि काँग्रेस आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्ने भएको छ ।

डा. महतका अनुसार काँग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने भएको हो । आजको बैठकले मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको उनले बताए ।

यस्ता छन् काँग्रेसको कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु

१. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ l

२. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनवद्दता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ l हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रती सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघिबढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली काँग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ l

३. संसदको सबैभन्दा ठलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ l संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पुर्णता दिँदै मुलुकको चौतर्फी विकास मार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रती यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

४. नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन निर्णय यो बैठक गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !