काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आजै शीतल निवास सर्ने भएका छन् । राष्ट्रपति पौडेल आजै बोहोराटारस्थित आफ्नो निजी निवासबाट राष्ट्रपति कार्यालय शीतल निवास सर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
राष्ट्रपति पौडेल शपथ ग्रहणपछि शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएको छ ।
कार्यकाल सकिएपछि निवर्तमान राष्ट्रपति भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण समारोहमा सहभागी भएर शीतलनिवास छाडने तयारीमा छिन् । नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेभित्र शीतल निवास छाड्ने उनको सचिवालयले जनाएको छ ।
निवर्तमान राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भनिएतापनि घरको मर्मत नसकिएकोले शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्ने भएकी हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।
यो पनि पढ्नुहोस्