१२ बैशाख २०८१, बुधबार

निवर्तमान राष्ट्रपति भण्डारीले आजै शीतल निवास छोड्ने


वसन्त श्रवण

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल हिजोदेखि सकिएको छ । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएको हो ।

कार्यकाल सकिएपछि निवर्तमान राष्ट्रपति भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण समारोहमा सहभागी भएर शीतलनिवास छाडने तयारीमा छिन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ दिउँसो १ बजे रहेको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेभित्र शीतल निवास छाड्ने उनको सचिवालयले जनाएको छ ।

संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था भएपनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।

पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते निर्वाचित भइसकेकोले निवर्तमान राष्ट्रपति भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो ।

निवर्तमान राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भनिएतापनि घरको मर्मत नसकिएकोले शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्ने भएकी हुन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !