७ बैशाख २०८१, शुक्रबार

सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


रेखा शर्मा र नवीन श्रीवास्तव

काठमाठौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुइ पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान-प्रदानका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुुपर्नेमा जोड दिएका थिए ।

भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको बताए ।

भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुुन सकेको छैन । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !