काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् ।
आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ दिएका हुन् । यादवविरुद्ध नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा (एमाले) का सांसद महेश बर्तौलासहितले आज नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेका थिए । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला हुनुपर्ने सांसद बर्तौलले उजरीमा भनेका छन् ।
“राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको छ”, उजुरीमा भनिएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।
अब आगामी चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरिएको हो । उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन भोलि आइतबार हुनेछ ।
उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ ।