६ जेष्ठ २०८१, आइतबार

आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल


८ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

बैठकमा यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा निर्वाचनमा राजनीतिक दलले गर्नुपर्ने प्राविधिक तयारीलगायत विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

आठ दलले निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सबै प्रदेशसभा सदस्यलाई भोलि फागुन २४ गते बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न आग्रह गर्ने निर्णय गरेको छ । साथै बैठकमा दलहरुले आफ्ना सांसदलाई मत बदर नहोस् भन्नका लागि मत हाल्न सिकाउने, शतप्रतिशत मत खसाल्नका लागि प्रयास गर्नेलगायत विषयमा छलफल भएको थियो ।

आठ दलीय गठबन्धनले आफ्ना साझा उम्मेदवार पूर्व सभामुख रामचन्द्र पौडेललाई विजयी गराउन यसअघि केन्द्र र सबै प्रदेशमा अभिुमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । कांग्रेस उपसभापति खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !