७ बैशाख २०८१, शुक्रबार

वामपन्थीहरू एक ठाउँमा उभिदा मात्र गुणात्मक परिवर्तन हुनसक्छ : झलनाथ खनाल


झलनाथ खनाल

सुर्खेत । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी पार्टीहरू एक ठाउँमा उभिदा मात्र देशमा गुणात्मक परिवर्तन हुनसक्ने बताएका छन् ।

आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले वामपन्थी दलहरुका बीचमा एकता हुनुपर्नेमा जोड दिएका हुन् । उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने बताए ।

उनले वामपन्थीहरुकाे बीचमा एकता हुन आवश्यक रहेको बताउँदै अहिले बनेको आठ दलीय नयाँ गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने पनि बताएका छन् । उनले नेपालमा नयाँ गठबन्धनले तात्विक परिवर्तन गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् ।

उनले वामपन्थी वीचमा एकता अनिवार्य भएको बताउँदै नीति, विचार, लक्ष्य मिल्ने दलहरुसँग कार्यगत एकता देखि पार्टी एकतासम्म गर्न सकिने बताए । नेता खनालले वाम दलहरुकाबीचमा मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी खुला रहेको समेत बताए ।

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए । यद्यपि उक्त पार्टीका अध्यक्ष माधव नेपालले भने एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने स्पष्ट पारिसकेका छन् ।

यस्तै उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट दिने भन्ने बारेमा दलले आधिकारिक निर्णय गर्नका लागि अझै १२ दिन बाँकी रहेको जनाए । यद्यपि अध्यक्ष नेपाल प्रस्तावक बसेको बारेमा भने उनले आफू वंगलादेशबाट हिजो मात्रै आएको बताउँदै त्यसबारेमा जानकारी नभएको बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले विगत एक दशकदेखि आफ्नो नाम राष्ट्रपतिको रुपमा चर्चा हुने गरेपनि आफूले त्यो पद पाउन मरिहत्ते नगरेको स्पष्ट पारे । खनालले आफू सत्ताका लागि र्याल चुहाउने र नेताको ढोका चाहर्ने भित्र हिजो पनि नपरेको र भोलि पनि नपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !