
पोखरा । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् ।
आज आइतबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएकोले सबैले समर्थन गर्ने व्यक्ति हुनुपर्नेमा जोड दिए ।
गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन् । सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको औंल्याए । उनले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने स्पष्ट पारेका हुन् ।
राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने उनले बताए । संविधान, गणतन्त्रको रक्षा गर्ने र परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिएका हुन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा अहिलेको सत्ता गठबन्धनसँग उक्त कुरा जोड्न नमिल्ने महासचिव गुरुङको तर्क छ । वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आंकलन माओवादीले गरेकोले संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताएका छन् । देशमा संविधान, गणतन्त्र स्थापना भइसकेकोले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै मुद्दामा पनि सहकार्य हुन नसक्ने प्रष्ट पारे ।