११ पुस २०८१, बिहीबार

राष्ट्रपति भण्डारी आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि आज दाङ जाँदै


विद्यादेवी भण्डारी

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार दाङ जाँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !