८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिको सवालमा पार्टी सहमतिकै पक्षमा रहेको छ : माधव नेपाल


माधव नेपाल

अत्तरिया । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

“सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ”, उनले भने, “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।” संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताए ।

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे ।

सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !