४ जेष्ठ २०८१, शुक्रबार

चौतर्फी आलोचनापछि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार


काठमाडौँ । चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्न तयार भएको छ । आज आइतबार नेपाल सरकार र नेपाल चिकित्सक संघबीच भएको वार्ताका क्रममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने भएको हो ।

वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने सहमति भएको हो ।

जसअनुसार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन सम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको हो ।

सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

गत शुक्रवार राष्ट्रपतिको सवारीका क्रममा सडकमा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएपछि नेपाल चिकित्सक संघ आज देशभरका अस्पताल बन्द गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएसंगै चिकित्सकहरुले आन्दोलन स्थगित गरेर उनीहरु आफ्नो नियमित काममा फर्किएका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !