२१ पुस २०८१, आइतबार

जनमत संग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ : डा. शशांक कोइराला

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ : नेता कोइराला


डा. शशांक कोइराला फाइल फोटो

नवलपुर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत संग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका हुन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो नेता डा. कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।” नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए ।

श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् । आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म महायज्ञमा रु एक करोड २० लाख सङ्कलन भएको छ । महायज्ञस्थलमा रु १६ करोड बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !