७ बैशाख २०८१, शुक्रबार

एमाले निर्णय : वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने


केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ ।

‘मिसन ग्रासरुट’ सञ्चालन

बैठकले पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीका सदस्यले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने र अभियान सञ्चालन फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

कार्यविभाजन

बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसअघि उक्त विभागको प्रमुख घनश्याम भुसाल थिए । उनले एमालेबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई आजको बैठकले तोेकेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राखेका थिए ।

उद्धार र राहतको व्यवस्था मिलाउन आग्रह

नेकपा (एमाले) ले भूकम्प प्रभावित देश टर्कीए र सिरियामा खोज उद्धार र राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित ती देशका नागरिकलाई तत्काल विपद् प्रतिकार्य, खोज उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न तथा आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको हुन् ।

उनले प्राकृतिक विपद्बाट हुन गएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । यही माघ २३ गते टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको ७।८ म्याग्निच्युडको भूकम्प र यही माघ २५ गतेसम्म गएका तीन सय १२ बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो सङ्ख्यामा भौतिक पूर्वाधार र जीविकोपार्जन प्रभावित भई हजारौँ परिवार घरवारविहीन भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष ओलीले निकाल्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीएमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !