काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका दाइ डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगकाे सदस्य नियुक्त भएका छन् । सिकेले आफ्नो दाइ डा. जयकान्तलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका हुन् ।
अध्यक्ष डा. राउतले आफ्नो पार्टीको तर्फबाट जयकान्तलाई सिफारिस गरेपछि हिजो बुधवार प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत रहेका उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएर डा. जयकान्त प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट चुनाव लडेका थिए । जयकान्तलाई जनता समाजवादी पार्टीका नवकिशोर साहले चुनाव हराएका थिए ।
लामो समय कृषि अनुसन्धानमा समय विताएका वरिष्ठ वैज्ञानिक डा. जयकान्त समसामयिक राजनीतिमा समेत रुचि राख्ने राउत नेपालमा कृषिमा आधुनिकीकरणले मात्रै मुलुकको समृद्धि हुने बताउँछन् ।