११ बैशाख २०८१, मंगलबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा आज बस्दै


सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको हो ।

हिजो बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तापछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए । यसअघि मंगलबार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गएर गठबन्धन नै धरापमा पर्न लागेको हो कि भन्ने विश्लेषणका बाबजुद आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेताहरुको उपस्थिति हुने बताइएको छ ।

एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको राजनीतिक अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने भएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार आज माघ २६ गते अन्तिम दिन भएकोले आजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । यस विषयमा पनि छलफल हुने बताइएको छ ।

यद्यपि उनले विश्वासको मत पाउने भने निश्चित छैन । विश्वासको मत पाउनको लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !