१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै


कुमार दसौँदी, माधवप्रसाद आचार्य र राजेन्द्रवीर राय

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त रहेको एक जना सदस्यका लागि आज मतदान हुन लागेको हो । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् । सत्तापक्ष गठबन्धनमै रहेपनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा आज उपनिर्वाचन हुन थालेको हो ।राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ । जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई/दुई, राप्रपा र जनता प्रगतिशीलले एक/एक स्थानमा जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार/चार, जसपा, लोसपा र जनमतले तीन/तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक÷एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !