१२ पुस २०८१, शुक्रबार

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सकिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको हो ।

आजको बैठकमा राष्ट्रपति निर्वाचन र पार्टी एकताको कार्यदल लगायतका एजेण्डामा छलफल भएको थियो । यस्तै माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सी माघ १८ गते बुधबार बस्ने भएको छ ।

माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । आजको पदाधिकारी बैठकपछि बोल्दै माओवादी केन्द्र उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै पनि कुरा नभएको बताए ।

आजको बैठकमा गृहमन्त्री बारेमा कुरा नभएपछि प्रधानमन्त्री प्रचण्ड आफैंले यसको बारेमा निर्णय गर्ने भएका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा स्थायी समिति बैठकमा छलफल हुनेसक्ने संकेत चाहि गरेका छन् ।

हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेपछि पार्टीमा आन्तरिक छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी सारेर पदाधिकारी बैठक बोलाएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर रास्वपाका सभापति लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !