७ बैशाख २०८१, शुक्रबार

शहीदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको छ : प्रदेश प्रमुख गुरुङ


पृथ्वीमान गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शहीदको बलिदानबाट नेपाल स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको बताएका छन् ।

शहीद दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले शहीदहरूको त्याग र बलिदानको प्रतिफलस्वरूप प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति प्रदेश प्रमुख गुरुङले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शहीद दिवसले हामी सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदहरूको सपना साकार पार्न समर्पित हुन प्रेरणा दिने उल्लेख गर्दै सन्देशमा उनले देशलाई द्रूत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदहरूको सपनालाई साकार पार्नुपर्नेमा जोड दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !