काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नपाए पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने चेतावनी दिएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताएका छन् ।
रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले गृह मन्त्रालय फेरि आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि आजको बैठकले लामिछानेलाई नै गृहमन्त्रीमा पठाउने वा नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन ।
रास्वपाले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएका छन् ।
ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको समेत बताएका छन् । ढकालका अनुसार अब पार्टी सभापति लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्रीको बन्ने टुंगो लगाउने बताएका छन् ।
केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ । रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको छ । रविको राजीनामापछि अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।
पद गुमेको दुई दिन नबित्दै रवि लामिछाने पुन: रास्वपाको सभापति बनेका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।
यस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएपनि प्रधानमन्त्री प्रचण्ड सोको लागि तयार नभएको जस्ता समाचार बाहिर आएका छन् ।
गत पुस १० गते सत्ता साझेदार दलबीच भएको भागबण्डा हुँदा लामिछानेले गृह मन्त्रालय नपाएसम्म सरकारमै नजाने अडान लिएपछि ओली र प्रचण्डको सल्लाहमा उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
यो पनि पढ्नुहोस्
दुई दिन नबित्दै रवि लामिछाने बने पुन: रास्वपाको सभापति
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता