१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई एमालेका अध्यक्ष ओली भेट्न केहीबेरअघि बालुवाटार पुगेका हुन् । दुई नेताहरुबीच देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई एमाले अध्यक्ष ओलीले चौतर्फी घेराबन्दी पारेको भन्दै असन्तुष्टि प्रकट गरिरहेका छन् । राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् भने अध्यक्ष ओलीले राष्ट्रपति एमालेले पाउनेपर्ने यसअघि भएको सहमतिमा कुनै तलमाथि गर्नु नहुने अडानमा कायम रहेका छन् ।

आज मात्र नागरिकता पुन: प्राप्ति गरेका रवि लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएपनि प्रधानमन्त्री प्रचण्ड सोको लागि तयार नभएको जस्ता समाचार बाहिर आएका छन् ।

यसका साथै लामिछाने पदमुक्त भएपछि रिक्त भएको गृह मन्त्रालयमा उनलाई नै पुन:बहाली गर्ने वा नयाँ मन्त्री ल्याउने, राष्ट्रपति तथा उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेको गृह मन्त्रालय नछोड्ने हुने दाबी गरेको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !