११ बैशाख २०८१, मंगलबार

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न एमाले अध्यक्ष ओलीको निर्देशन


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् ।

एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए । उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गरे ।

“हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो”, उनले भने, “हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।” एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए ।

उनले भने, “कहिलेकहिले सत्य कमजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ ।” अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, सङ्गठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राखे ।

उनले पार्टीका कसैले भ्रष्टाचार गरेको खण्डमा सजाय भोग्नुपर्ने र त्यसमा पार्टीले केही गर्न नसक्ने बताए । कहीँकहीँ पार्टीका केहीका अनुशासनका उल्लङ्घनका घटना रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती व्यक्तिगत घटना भएको र व्यक्तिगत घटनाका जिम्मेवारी अनुशासन उल्लङ्घनकर्ता हुने भनाइ राखे ।

कार्यक्रममा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ता एमालेको नीति, विचार र सिद्धान्तमा प्रतिबद्ध हुनुपर्ने बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेललगायतले प्रशिक्षण दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !