१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित


इन्दिरा रानामगर

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रानामगर सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६४ जना सांसदहरुको उपस्थिति रहेको थियो । रानामगरलाई उपसभामुखमा निर्वाचित गराइयोस् भने प्रस्तावको पक्षमा १६६ मत परेको थियो भने विपक्षमा ९७ मत परेको थियो भने कसलाई पनि मत दिन्न भन्ने पक्षमा १ जनाको मत परेको छ ।

उपसभामुख पदको लागि रास्वपाबाट रानामगर र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवारी परेको थियो । रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन रहेका थिए ।

यता यादवको प्रस्तावकमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका थिए । रानामगर र यादवले हिजो उपसभामुख पदका लागि उम्मेद्वारी दर्ता गराएका थिए ।

इन्दिरा सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् भने उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । उनले काठमाडौंको नयाँ बजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !