१२ आश्विन २०८१, शनिबार

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेश


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ पेश भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा. बिमला राई पौडेलले उक्त विधेयक सभा समक्ष पेश गरेका हुन् ।

मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषयहरु समेटेर गुणस्तरी र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्व विद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताइन । उनले मुुुलुको समृद्धिका लागि नैतिक मुल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारेकी थिइन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रियसभा अन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवलाई ‘दिगो विकास तथा सुशासन समिति’मा मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले अनुमोदन गरेको थियो ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य तथा बिशेष समयमा बोल्दै समसामयिक विषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !