७ मंसिर २०८१, शुक्रबार

सभामुखको उम्मेदवार टुंगो लगाउनुअघि देउवालाई प्रचण्डको फोन, ओली शशंकित


केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा टुंगो लगाउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि शशंकित भएका छन् ।

सत्ता साझेदार दल एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनाउन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले हिजो आह्वान गरेको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्रीप्रचण्डले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको थियो ।

आज बुधबार बिहान पदाधिकारी बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्डले फोन गरेर समझदारी कायम गरिने र सोबारे केही समय कुर्न अनुरोध गरेपछि कांग्रेस रोकिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

हिजोको सर्वदलीय बैठकमा आफूलाई विश्वासको मत दिने राजनीतिक दलहरुसंग सहमति र सहकार्य जारी राख्ने बताएपछि एमाले अध्यक्ष ओली बैठक सकिनुअघि नै बाहिरिएका थिए । सभामुख र राष्ट्रपति पदका लागि काँग्रेसले आँखा लगाएपछि ओली रुष्ट भएका हुन् ।

नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांगेसको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यी तीन सम्भावित अनुहारमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा पार्टीको कार्यसम्पादन समितिको बैठकले चयन गर्नेछ भने दिउँसो १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता महतले जानकारी दिए । महतले कांग्रेसले अन्य दलसँग छलफल गरेर सभामुखको उम्मेदवार टुंगो लगाउने बताए । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले महिलालाई सभामुखको उम्मेदवार बनाउने, यी हुन सम्भावित अनुहारहरु

सभामुखमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

देवराज घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !