७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त


लीला गिरी

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (एमाले) को लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका थिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समावादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी पेश गरेको थिए ।

यसअघि मङ्गलबार अपराह्न ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेस गर्ने तयारी गरे पनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो ।

लीला गिरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !