१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको स्पष्टोक्ति : विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैन


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे ।

आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, “मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।

प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, “मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।”

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यस्तै सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समग्र मुलुकको परिस्थितीको मूल्याङ्कन गरेर आफूहरूले विशिष्ट निर्णय लिएको बताए । उनले विसं २०५१ मा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको सन्दर्भ जोड्दै अहिले पनि त्यस्तै विशिष्ट निर्णय लिएको जानकारी दिए ।

उनले सरकार जोगिने वा नजोगिनेभन्दा पनि मुलुकको आर्थिक अवस्था, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूर्णता दिनेलगायतका विषय निर्वाचनको समयमा समेत आफूहरूले गरेको गरेकाले त्यसलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सहयोग गरेको स्पष्ट पारे ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सदनमा आफूहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्रीलाई विश्वासको मत किन दिने भन्नेबारेमा सभापति शेरबहादुर देउवाले नै स्पष्ट पारेको उनको भनाइ छ ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएको प्रतिक्रिया दिए । उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि पनि सरकारलाई समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको तथा आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !