७ बैशाख २०८१, शुक्रबार

सरकारलाई कांग्रेसको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुनेछ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुने टिप्पणी गरेका छन् ।

आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई लक्षित गर्दै जाल हान्न खोजेका भए सो रणनीति सफल नहुने व्यंग गरेका हुन् । ओलीले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे काँग्रेसले गरेको निर्णयप्रति ओलीले व्यङ्ग्य र प्रश्नहरू गरेका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गर्दै कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उनले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट गरे ।

ओलीले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावलाई समर्थन गर्दै अरू दललाई पनि पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले भने, “म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनु हुँदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।” प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको उल्लेख गर्दैै उनले यदि समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताए ।

सरकारद्वारा जारी गरिएको साझा न्यूनतम कार्यक्रम स्वागतयोग्य रहेको उनले बताए । “त्यो स्पष्ट प्रतिबद्धता छ, रुग्ण उद्योगलाई ब्युताउनेसहित देशलाई औद्यौगिकीकरण र आधुनिकीकरणमा लैजानुपर्छ यो कार्यान्वयन गर्ने विषय पनि उत्तिकै चुनौती छ”, पूर्वप्रधानमन्त्री ओलीले भने, “इतिहास दोहोर्याउने नभई नयाँ रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशलाग्दो छ, असहमति जनाइरहनुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उनले भने, “युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ ।” उनले देशको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी छ भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !