४ जेष्ठ २०८१, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा निर्णय लिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो । सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गर्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । पार्टीको सङ्घीय प्रतिनिधिसभामा १० सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !