७ बैशाख २०८१, शुक्रबार

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ यातायात कार्यालय अनुगमन फाइल फोटो

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका छन् ।

आज काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी गर्दै उनले प्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नारायणकाजी श्रेष्ठ यातायात कार्यालय अनुगमन

यातायात व्यवस्था सुधारका लागि सङ्घीय र प्रदेश सरकारबीच छलफल भइरहेको उनले बताए । अहिलेसम्मका यातायात व्यवस्थाका कमजोरीलाई सच्याउने र समस्या समाधान गरी सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिइने उनको भनाइ छ ।

नागरिकले सेवा लिँदा दुःख पाइरहेकाले स्थलगत रुपमा अवलोकन गरी प्रत्यक्ष जानकारी लिन आफू कार्यालय आइपुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। “जनताले अहिलेसम्म ढिलो सेवा पाएका छन्, अब नयाँ ढङ्बाट काम गरिनेछ”, उनले भने, “समस्याका समाधान गरी नागरिकलाई सजिलो गरी सेवा दिइनेछ ।”

नारायणकाजी श्रेष्ठ यातायात कार्यालय अनुगमन

डिजिटल माध्यमबाट सेवा प्रवाह तथा कर्मचारीलाई अभिमुखीकरण र र आवश्यकता अनुसार कर्मचारी थप गरी समस्या हल गरिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “के कस्ता साधनस्रोत उपलब्ध गराउनुपर्ने हो त्यो पूरा हुनेछ”, उनले भने, “त्यसपछि तुरुन्त हुनुपर्ने काम नहुने, नागरिकले पीडा पाउने र समयमा काम नहुनेलाई समस्या अन्त्य गरिनेछ ।”

प्रविधिको युगमा पनि पैसा बुझाउन कार्यालय धाउनुपर्ने लगायतका कारणले पनि सेवाग्राहीले दुःख पाएको उनको भनाइ छ । उनले कर्मचारीको मनोबल उच्च बनाएर जिम्मेवारी बोध गराउँदै काम गराउने बताए । उनले भने, “सुशासन नै पहिलो जोड हो र समयमा परिणाम दिनुपर्छ ।”

उनले यातायात कार्यालयलाई सवारी चालक अनुमतिपत्रको परीक्षाको नतिजा भोलिपल्टै निकाल्न निर्देशन दिएका छन् । नतिजा तीन दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था भएको भन्दै उहाँले चाँडो काम गर्न निर्देशन दिएका हुन् ।

नारायणकाजी श्रेष्ठ यातायात कार्यालय अनुगमन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !