१२ बैशाख २०८१, बुधबार

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको ओलीको दावी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दावी गरेका छन् ।

प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका हुन् ।

आगामी नयाँ सरकारको पहिलो चरणमा पुन: एकपटक प्रधानमन्त्रीका हुनका लागि अधिकतम प्रयास गरिरहेका प्रचण्डको सम्भावना समयमा कदम नचालेकोले समाप्त भएको ओलीको भनाइ छ ।

ओलीले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गरे । यस्तै ओलीले प्रचण्डले जस्तै अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको समेत औंल्याए ।

उनले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताएका छन् । पार्टीलाई सङ्गठनात्मकरूपमा एकताबद्ध बनाएर अगाडि बढाइने बताए । नेता ओलीले पार्टीका वास्तविक नीतिलाई कार्यकर्ता र जनतासमक्ष लैजाने दृढता व्यक्त गरे ।

पार्टी, जनवर्गीय सङ्गठन र तिनका सबै तहलाई चुस्त, दुरुस्त बनाउने उनको भनाइ छ । “पाटी कमिटी ठूला भद्दा छन् । ती काम गर्न नसक्ने छन् । ती नाममात्रका कमिटी नेताको काम आसनग्रहण गर्ने मात्र होइन । नेताको काम कार्यकर्ता र जनताकोमा जाने र उनीहरूलाई सक्रिय बनाएर पार्टी नीतिअन्तर्गत सङ्गठन विस्तार गर्ने हो”, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले पार्टीका कमिटी ठूला भएकाले सङ्ठनात्मक र आन्दोलनका काम हुन नसकेको भन्दै आसनग्रहण गराउने मात्र काम भएको बताए । उनले पार्टी एकढिक्का भएर जनतासमक्ष जाने हो भने निर्वाचन जित्न सकिने विश्वास व्यक्त गरे ।

एमालेको मात्र राष्ट्रिय स्वार्ध रहेकाले सरकार सञ्चालनको हैसियत प्राप्त गरेको उनको दाबी थियो । “दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, जनताको हित, राष्ट्रको हित विकासका आकाङ्क्षा, जनताका समस्याको सम्बोधनलाई केन्द्रविन्दुमा राखेर एमालेले सोचिरहेको छ । सत्ता स्वार्थमा राखेर होइन”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !