११ श्रावण २०८१, शुक्रबार

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालवीच भेटवार्ता जारी


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालवीच भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न बालुवाटारमा पुगेका प्रचण्डसँगको छलफलमा अध्यक्ष नेपाल पनि थपिएका हुन् । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की सहभागी रहेका छन् ।

बिहीबार साँझ सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुको जारी बैठकमा सत्ता समीकरणको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समयसीमा दिएकोले आज प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाबाट सपथ लिएसंगै गठबन्धनका शीर्ष नेताहरु सरकार गठनमा जुटेका हुन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनको समय तीन दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि तातेका हुन् । यसअघि नेपाल विरामी भएकोले गठबन्धनका नेताहरुमा छलफल हुन सकेको थिएन । हिजो बुधबारमात्रै त्रिवि शिक्षण अस्पताल पुगेर देउवा र प्रचण्ड नेपाललाई भेट्न थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले बन्नका लागि योग्य उमेरमा पुगेको बताएका छन् । नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले आफू राष्ट्रपति पदको लागि दावेदार भएको संकेत गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेलमध्ये एक जना बन्ने खुलासा गरेपछि बिरामी नेपाल राष्ट्रपति बन्न तम्सेका छन् ।

यद्यपि काँग्रेसमा देउवाले पौडेललाई राष्ट्रपति बनाउन आश्वाशन दिएपछि उनले संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई गोरखामा निर्वाचन लड्नको लागि आफ्नो उम्मेदवार छोडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि राष्ट्रपति बनाउने आश्वाशन दिएको हल्ला चलेपनि उक्त हल्ला अहिले सेलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !