६ पुस २०८१, शनिबार

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन हुनुभएको छ । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।

यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन् । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत छन् ।

माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो ।

सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !