काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तर्क्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै आगामी दिनमा जनताका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए ।
“आगामी पाँच वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने काममा लाग्नेछु”, उनले भने ।
नेता पौडेलले उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याएर आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताए । निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ छ ।