४ बैशाख २०८१, मंगलबार

बालकोटमा ओली र गगनका ससुरा केसीबीच दुई घण्टा वार्ता


केपी शर्मा ओली र अर्जुननरसिंह केसी

भक्तपुर । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।

केसीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीको निमन्त्रणामा काँग्रेसका महामन्त्री गगन थापाका ससुरा समेत रहेका नेता केसी हिजो आइतबार साँझ ओली निवास बालकोट पुगेर भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

भेटमा दुई नेताबीच नयाँ सरकार गठनलगायत देशको वर्तमान समसामयिक राजनीतिक बारेमा दुई घण्टा छलफल भएको थियो । साथै जनजीविकाका सवालमा उठेका आवाज सामूहिक रूपमा समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै उनीहरूले अर्थतन्त्र सुधारका सन्दर्भमा दलबीच एकता र सहकार्य आवश्यक रहेको औंल्याएका थिए ।

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रतिनिधिसभा र प्रदेशसभा नतिजा सार्वजनिक भएसँगै सरकार गठनको सम्बन्धमा नेताहरूले भेटवार्तालाई तीव्रता दिएका छन् । आम निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले गठबन्धन सरकार बन्ने सुनिश्चित भएको छ ।

यसबीच कांग्रेस र एमाले मिलेर पनि सरकार बनाउने चर्चा चलिरहेको छ । काँग्रेसमा पार्टी सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका साथै केसीका जुवाई थापा पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि नै थापाले संसदीय दलको नेता बन्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । यदि काँग्रेसका थापा संसदीय दलको नेतामा चुनिए भने एमालले समर्थन गरेमा प्रधानमन्त्री बन्ने प्रवल सम्भावना पनि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !