८ बैशाख २०८१, शनिबार

ओलीले गरे घनश्याम भुसाल र प्रभु साहलाई कारबाही, एमालेबाट निष्कासन


घनश्याम भुसाल र प्रभु साह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले घनश्याम भुसाल, प्रभु साहलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले भुसाल र साहसहित नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो । एमालेले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै भुसाल र साहलाई निष्कासन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । भुसाललाई टिकट नदिइएपछि उनले पार्टी छाडेका थिए भने साहले टिकट बाँडफाँटमा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि हटाएको हो ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट पनि एमालेले हटाएको गुरुङले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !