१३ बैशाख २०८१, बिहिबार

संसद् सचिवालयले चोलेन्द्रलाई दिएको पत्रमा के छ ?


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो । महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल भएको र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।

तत्प्रश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा यही मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ । यस अवस्थामा गत फागुन १ गते सङ्घीय संसद्का महासचिवबाट प्रधानन्यायाधीश जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र निष्प्रभावी भएको सङ्घीय संसद् सचिवालय महासचिव डा. भरतराज गौतमद्वारा आज जारी पत्रमा उल्लेख छ ।

उक्त पत्रको व्यहोरा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश जबरालाई सम्बोधन गरी लेखिएको छ ।

यसअघि, यही मङ्सिर २० गते मङ्गलबार प्रधान न्यायाधीश जबराले नियमित कार्यसम्पादन गर्न सचिवालयमा निवदेन दिएका थिए । प्रधानन्यायाधीश जबरा यही मङ्सिर २७ गते अनिवार्य अवकास लिँदै छन् ।

यस्तो छ हेर्नुहोस् संसद् सचिवालयले चोलेन्द्रलाई दिएको पत्र

संसद सचिवालयले प्रधानन्यायाधीश जबरालाई दिएको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले मिति २०७१/०८/२० मा तत्कालीन प्रतिनिधि सभामा पेस भएको महाभियोग सो प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावी भएकोले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने ब्यहोराको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछु । उपरोक्त निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १ गते नेपालको संविधानको धारा १०१ (२) बमोजिम वहाँ विरुद्ध तत्कालीन प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात् संघीय संसद्को महासचिवबाट संविधानको धारा १०१(६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्र माथि उल्लेखित निकायमा जानकारी गराइएको थियो । सो महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चात्को प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु । प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि वहाँले दिनु भएको निवेदनको छाया प्रति यसै साथ संलग्न रहेको छ ।’

संसद् सचिवालयले चोलेन्द्रलाई दिएको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !