१२ बैशाख २०८१, बुधबार

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाउने सरकारको निर्णय


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडाैं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित वस्तुहरुको आयात आगामी पुस १ गतेदेखि खुलाउने निर्णय गरेको हो ।

यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।

तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।

गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरु तोकेर आयात प्रतिबन्ध लगाइएको थियो । सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयातमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मुद्रा सञ्चितिको अवस्थामा पछिल्लो समय केही सुधार आएसँगै नेपालले वस्तु आयातलाई खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा गएको र सोही अनुसार निर्णय भएको ती मन्त्रीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !