१२ पुस २०८१, शुक्रबार

समानुपातिकतर्फ केही पार्टीको मत अस्वाभाविक वृद्धि भएको भन्दै ओलीले जनाए आपत्ति


केपी शर्मा ओली कैलाली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक निर्वाचनतर्फ केही पार्टीको मत अस्वाभाविक वृद्धि भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमा केही समयअघि लेख्दै एमाले अध्यक्ष ओलीले समानुपातिक तर्फको जारी मतगणनामा सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

अध्यक्ष ओलीले एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुन सक्ने भनेर सचेत हुन पार्टीका नेता-कार्यकर्तालाई सजग गराएका हुन् ।

आज शनिवार विहानदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको मत अस्वाभाविक वृद्धि भएपछि ओलीले आपत्ति जनाएका हुन् । एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड नकट्ने सम्भावना देखिएपछि गठबन्धनभित्रैबाट गम्भीर चलखेल भएको ओलीले आशंका गरेका हुन् ।

उनले जिल्ला-जिल्लामा मतगणनामा रहेका पार्टीका नेता-कार्यकर्तालाई चनाखो रहन निर्देशन दिंदै मतगणनामा भएका प्रतिनिधिहरूलाई त्यहाँको मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध समेत गरेका छन् ।

उनले फेसबुकमा लेखक छन्, ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ । जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !