६ बैशाख २०८१, बिहिबार

नवलपरासी पुगेर देउवा र प्रचण्डको एउटै स्वर : विनोद चौधरीलाई जिताउनुहोस्


शेरबहादुर देउवा, प्रचण्ड र विनोद चौधरी

नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीलाई जिताउन आग्रह गरेका छन् ।

आज मंगलबार पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नवलपरासीको समग्र विकासका लागि चौधरीलाई विजय गराउन आग्रह गरेका हुन् ।

देउवाले यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका हुन् । उनले नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि चौधरीलाई सो क्षेत्रमा पठाइएको बताए । उनले चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने पनि आश्वाशन दिए ।

उनले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आह्वान समेत गरेका छन् । उनले शान्ति, संविधान र लोकतन्त्रसहित आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

उनले भने, “यो लोकतान्त्रिक–वाम गठबन्धनले चुनाव जितेपछि बन्ने गठबन्धनको सरकार कुनै पनि हालतमा संसद्लाई भङ्ग गर्दैन, पूर्णकालीन रुपमा संसद् चलाउँछ ।”

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रममा बोल्दै चौधरीको विजय यो क्षेत्रको विकासको कोषेढुङ्गा सावित हुने बताए । अध्यक्ष प्रचण्डले चौधरीको उम्मेदवारी आम मतदाताको सुनिश्चित भविष्यको लागि भएको भन्दै विजय गराउन आग्रह गरेका हुन् ।

उनले राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गरे । पूर्व प्रधानमन्त्री दाहालले देशमा सुशासन र विकासमार्फत देशमा राजनीतिक स्थायित्व प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले किसानको मलखादको समस्या समाधान गर्न मल उत्पादन गर्ने काराखाना स्थापना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे ।

आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद चौधरी, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायतले लोकतान्त्रिक–वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !