७ बैशाख २०८१, शुक्रबार

प्रचण्डको गृहजिल्ला चितवनमा आज एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्दै


घोषणा गरिएकै मिति वैशाखमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवनको चुनावी सभालाई सम्बोधन गर्दै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।

एमाले अध्यक्ष ओली बिहान ११ बजे चितवन पुग्ने र चितवनको भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्न लागेका हुन् ।

उक्त आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनले जनाएको छ ।

भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि र्‍याली निकालिने भएको छ । भरतपुरको केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट र्‍याली निस्कने भएको हो ।

आज नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सक्ने बताइएको छ । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाएको छ ।

ओली एमालेको चुनावी प्रचार-प्रसारको अभियानका लागि देश दौडाहामा छन् । यसअघि अध्यक्ष ओलीले हिजो कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !