१४ बैशाख २०८१, शुक्रबार

के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?


कुन्तीकुमारी शाही र गोमा गौतम (कुँवर)

कर्णाली । पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ । सम्भवतः त्यो संयोग गोमा र कुन्तीको परिवारमा जुरेको हुन सक्छ ।

अहिले ती दुवै पात्रले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । चुनावको दिन मङ्सिर ४ गते आउन अब १० दिनमात्र बाँकी छ । गोमा गौतम (कुँवर) प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) जुम्लाको महिला प्रत्यक्षतर्फको उम्मेदवार हुन् भने कुन्तीकुमारी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दैलेख क्षेत्र नं १ को प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।

कर्णालीमा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् । त्यसमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतदेखिको विरासत बोकेका पार्टीमध्ये कर्णालीमा माओवादी र राप्रपाले बढी न्याय गरेको छ । नेपाली कांगे्रस र नेकपा (एमाले)का महिला नेत्रीहरुले भने टिकट पाउन सकेका छैनन् ।

संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता राज्यका सबै निकाय हुनुपर्ने व्यवस्था भएपनि ठूला पार्टीबाट कर्णालीमा गौतम र शाही मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा मुस्किलले अटाउन सके । वर्गका हिसाबले महिला भए पनि दुवैको राजनीतिक र धार्मिक आस्था एकआपसमा ठीक विपरीत छ । उहाँहरु दुवै राजीतिकरुपले पनि प्रतिस्पर्धी मानिन्छन् ।

गोमा कम्युनिष्ट विचारधारमा विश्वास गर्नुहुन्छ भने कुन्तीे हिन्दूवादी सनातन धर्ममा । मालेवादलाई अँगालेकी गौतम र राजसंस्थालाई आस्थाको धरोहर ठान्दै आउनुभएका शाही फरक पार्टीका पुरुष उम्मेदवारसँग भिडन्त गर्दै छन् । जहाँ दुवैका लागि चुनावमा बिजयी हुनु त्यति सजिलो छैन । सिङ्गो कर्णालीका निम्ति महिला नेतृत्वमा आउने कुरामा अन्याय गरे पनि आफूहरुको सवालमा न्याय दिलाइएको दुबैको भनाइ छ ।

जुम्लाका गौतम प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेसँग प्रतिस्पर्धा गर्दै छन् । श्रमजीवि र महिला वर्गको मुक्ति आन्दोलन गर्दै हाल माओवादीका केन्द्रीय सदस्य रहेकी गोमा जुम्लाका माओवादी र अहिलेको गठबन्धनको साझा उम्मेदवारका हिसाबले बलियो नै देखिन्छिन् ।

स्थानीय तहको निर्वाचन, २०७९ को मतपरिणामलाई नियाल्दा जुम्लामा कांग्रेसको १६ हजार ७५ मतसङ्ख्या छ भने नेकपा (माओवादी केन्द्र)को १४ हजार एक सय ७५ छ । एमालेको छ हजार नौ सय ६२, नेकपा (एकीकृत समाजवादी)को छ हजार एक सय ९५ र राप्रपाको पाँच सय १४ मत छ ।

पछिल्लो समयमा समाजवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गठबन्धन दलभित्रका दुई दल कांगे्रस र माओवादीको मत जोड्दा मात्र ३० हजार छ । साठी प्रतिशत मत गठबन्धनका पक्षमा आउने भएकाले जीत सुनिश्चित भएको उम्मेदवार कुँवर बताइन् ।

ठूला दलबाट एक्लो महिला उम्मेदवार बन्नुभएकी उहाँ यतिबेला मतदाता भेटघाटमा व्यस्त नै छन् । चिसोसँगै गाउँमा आफूहरुले मत माग्दा विपद् पीडित जुम्लाबासीले बाढीले बगर बनेका जमिन पुनःनिर्माण र सीप तथा आयआर्जनमूलक कार्यक्रम हाल्न माग गरेको उम्मेदवार कुँबर बताइन् ।

जुम्ला माओवादी एक्लैले जित्ने आधार क्षेत्र भएकामा गठबन्धनले झनै आफ्नो जित सुनिश्चित गराएको उनको भनाइ छ । कुँबर भन्छिन्, “हामीले गरेको विद्रोह र आन्दोलनको उपलब्धि हो आजको व्यवस्था र महिला उम्मेदवार हुने अवसर पनि हो । अहिले महिलासहित दलित, आदिवासी÷जनजाति, पिछडिएको, अल्पसङ्ख्यक, सिमान्तकृत सबैले राज्यको सबै निकायमा अधिकारका रुपमा अनिवार्य सहभागिता जनाउँदै आएका छन् । यो व्यवस्था ल्याउनुमा माओवादीको पहिलो भूमिका छ ।”

व्यवस्था परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने माओवादी, मुलुकलाई शान्ति प्रक्रिया लैजान योगदान पुर्याउने कांगे्रस र व्यवस्था बदल्न तथा शान्ति प्रक्रिया लैजान मध्यस्थकर्ता एवं सहजकर्ताको महत्वपूर्ण ऐतिहासिक अभिभारा पूरा गर्ने नेकपा (एकीकृत समाजवादी)लगायतको गठबन्धन दलका सबै उम्मेदवारका पक्षमा मतदान हुने र त्यसमा गठबन्धनले विजय हासिल गर्नेमा पूर्ण विश्वस्त रहेको उनको जिकिर छ ।

त्यस्तै दैलेखमा राप्रपाबाट प्रत्यक्ष उम्मेदवार बनेकी शाही गठबन्धन दलसहित एमालेका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छिन् । राप्रपाको महामन्त्रीसमेत रहनुभएकी उनलाई चुनाव जित्नु फलामको च्यूरा चपाउनु जस्तै छ । उनले गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छिन् ।

स्थानीय तहको चुनावको मतपरिणामलाई हेर्दा कांग्रेसको २० हजार तीन सय ४४, एमालेको १९ हजार ६१, नेकपा (एकीकृत समाजवादी)को पाँच हजार पाँच सय २९, माओवादीको तीन हजार एक सय ७५ र राप्रपाको ९७६ मतसङ्ख्या रहेको छ ।

उक्त मतपरिणामलाई हेर्दा शाहीको चुनावी प्रतिस्पर्धा सहज नभए पनि पछिल्लो समयमा आफ्नो दल र आफूले उठान गरेको जनताका प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दा तथा पूर्वाधार विकास योजनाको २१ बुँदे प्रतिबद्धतापत्रले जीत सुनिश्चित रहेको उहाँको जिकिर छ । शाही भन्छिन्, “गठबन्धन दल र एमालेले स्थानीय तहको मतपरिणामलाई आधार बनाएका छन् । उनीहरुका ती पुराना सपना सबै ध्वस्त हुनेछन् ।”

सबै गर्छौं भनेर स्नातक पढेका युवालाई समेत भारत जान बाध्य बनाउने ठूला दलप्रति जनताको नैराश्यता र आक्रोश दुवै भएको उनको भनाइ छ । दैलेखलाई आत्मनिर्भर बनाउने, दलित, महिला र विपन्न वर्गलाई उत्पादन र सीपसँग जोड्ने र सुर्खेत–दैलेख–महावु–कालीकोट हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने प्रतिबद्धता नै आफ्नो जीत सुनिश्चितको प्रमुख आधार भएको उम्मेदवार शाहीको तर्क छ ।

राजनीतिक विश्लेषक पीताम्बर ढकाल पछिल्लो समयमा जनतामा बढ्दै गएको राजनीतिक चेतना र पार्टीको विगतको विरासतले उम्मेदवारको जीत हारमा प्रमुख भूमिका निर्वाह गर्ने उल्लेख गरे । उहाँ भन्छन्, “जुम्लामा गोमा गौतम (कुँवर) गठबन्धनको साझा उम्मेदवार र मतदातामा बढेको राजनीतिक चेतनाले दैलेखमा कुन्ती शाहीको जिकिरलाई अस्वाभाविक ठानिदैन । यद्यपि राप्रपाको साङ्गठानिक मत धैरै देखिँदैन ।”अहिले दुवै नेतृले ढुक्कका साथ आआफ्नो जीत सुनिश्चित हुने जिकिर गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !